बि सं १९८२ वैशाख १ गते श्री ३ चन्द्रशमशेरबाट नेपालमा दासप्रथाको औपचारिक अन्त्य गरिएको थियो। यस दिन स्वतन्त्र बनाइ मुक्त भएका ५१ हजार ७८२ जना कमारा-कमारीहरूलाई अमलेख गरी बारा जिल्लाको भिक्षाखोरी भन्ने स्थानमा पुनर्स्थापना गर्दै उनीहरूको जीविकोपार्जनका लागि जमिनको व्यवस्था गरिएको थियो। अमलेख गरी बस्ति बसालिएको ठाउँ भएकाले पछि भिक्षाखोरी नामक ठाउँको नाम नै परिवर्तन भई 'अमलेखगन्ज' रहन गयो ।
बि सं १९८१ साल मंसीर १४ शुक्रबारका दिन श्री ३ चन्द्रशमशेरबाट टुँडिखेल स्थित खरीको बोटबाट करिया अमलेखको घोषणा गर्दै बि सं १९८२ साल वैशाख १ गतेबाट कसैले पनि दासदासी राख्न नपाइने बेहोराको ५७ पृष्ठको नेपाली र अंग्रेजी दुवै भाषाको घोषणापत्र पढेर सुनाइएको थियो। नेपाली भाषाको भाषण गुरुज्यू हेमराज पाण्डेले र अंग्रेजी भाषण बडाकाजी मरिचमान सिंहले पढेका थिए । यद्यपि श्री ३ चन्द्रशमशेरको समयमा दासप्रथाको औपचारिक अन्त्य भएपनि उनी भन्दा अगाडि श्री ३ जङ्गबहादुर तथा श्री ३ देवशमशेरले पनि यो प्रथा हटाउने कोशिस भएको थियो ।
बि सं १९८११ साल तिर करिब ५२ हजार कमारा-कमारी मुक्त गरिएको घोषणा हुँदा देशको जनसंख्या भने ५५ लाख ५७ हजार ७८८ थियो । त्यस वेलासम्म दासका रूपमा घरेलु कामदारको हाटबजारमै खुला किनबेच हुन्थ्यो । उमेर र लिङ्ग हेरेर सामान्यतया रु.१०० देखि माथिको मोलमा कमाराहरूको किनबेच हुने सो समय राम्री तरुनी कमारीको भाउ रु.३९० सम्म तोकिन्थ्यो । कमारा–कमारीले मालिकको घरमा दिनभर खेतबारीमा खटिएर राति घरका सबै काम सकेपछि मालिक–मालिक्नीलाई तेल घस्नेसम्मका काम गर्नुपर्ने । राति कोठामा तेल घस्ने क्रममा मालिक र कमारीको सम्पर्कबाट छोराछोरी जन्मे पनि मालिकले आफ्नो भनेर सकार्दैनथे, अन्ततः ती सन्तान पनि बेचिन्थे । कमारा–कमारीको मोल रु.१०० देखि रु.३९० सम्म तोकिए पनि करिया अमलेखका वेलामा भने औसत रु.१२० तोकेर मालिकलाई क्षतिपूर्ति दिइएको थियो । कमारा-कमारीहरूलाई मुक्त गर्न यो समय सरकारले रु. ३६ लाख ७० हजार खर्च गर्नुपरेको थियो ।
-तस्वीरमा नेपालको फेसबुकबाट साभार(https://www.facebook.com/share/1E9tDADwW6/?mibextid=wwXIfr)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com