२३ चैत , काठमाडौं । पोखराको लेकसाइड क्षेत्रमा अवस्थित आफ्नो होटल वाटरफ्रन्टमाथि नगरपालिकाले पूर्वसूचना बिना पर्खाल भत्काउने प्रयास गरेपछि कर्ण शाक्यले गम्भीर आपत्ति जनाएका छन्।
शाक्यले आफ्नो सामाजिक संजालमा लामो स्टाटस लेख्दै आपत्ति जनाएको हो ।
उनको स्टाटस अनुसार करिब २० वर्षअघि सशस्त्र द्वन्द्वको कठिन परिस्थितिमा पनि स्वदेशमै पर्यटन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित आफ्ना साझेदार दिवाकर राजकर्निकारसँग मिलेर फेवाताल नजिक १७ रोपनी जग्गा खरिद गरी अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गरेका थिए। उक्त होटल उनीहरूको संघर्ष, लगानी र विश्वासको परिणाम भएको उनले बताएका छन्।
बिहीबार बिहान सबेरै कुनै पूर्व जानकारी बिना नगरपालिकाको टोली आएर होटलको पर्खाल भत्काउन थालेको भन्दै उनले दुःख व्यक्त गरेका छन्। पर्यटकको उच्च चाप रहेको सिजनमा यस्तो कदमले व्यवसायमा गम्भीर असर पर्ने उनले बताएका छन् ।
उनका अनुसार होटलले सबै कानुनी प्रक्रिया पूरा गरेको छ। “हामीसँग लालपुर्जा, नक्सा पास, पर्यटन विभागको लाइसेन्स, उद्योग विभागको प्रमाणपत्र र नेपाल राष्ट्र बैंकको इजाजतपत्रसमेत छ,” उनले भने, “हरेक वर्ष कर तिर्दै आएका छौँ र कुनै बैंक ऋणसमेत छैन।”
उनले ६५ मिटर मापदण्डको विषयलाई राष्ट्रिय सरोकारको मुद्दा भन्दै आफ्नो होटलले सो मापदण्ड उल्लङ्घन नगरेको दाबी गरे। “हाम्रो होटल मापदण्डअनुसार दूरीमै छ र ताल तथा होटलबीच अन्य व्यक्तिको जग्गासमेत रहेको छ,” उनले स्टाटसमार्फत स्पष्ट पारेकोछ ।
वातावरणीय जिम्मेवारी अन्तर्गत आफूहरूले UN-Habitatसँग सहकार्य गरी अत्याधुनिक DEWAT सेफ्टी ट्यांकी निर्माण गरेको पनि उनले जानकारी दिए।
लेकसाइड क्षेत्रमा हजारौँ संरचना रहेको अवस्थामा उचित मुआवजा र स्पष्ट प्रक्रिया बिना कुनै एक होटललाई लक्षित गरी गरिएको कारबाही न्यायसंगत नभएको उनको भनाइ छ। “नीति निर्माण आवश्यक छ, तर कार्यान्वयन पारदर्शी र न्यायपूर्ण हुनुपर्छ,” उनले जोड दिए।
इतिहासलाई उल्लेख गर्दै उनले फेवातालको स्वरूप समयसँगै परिवर्तन हुँदै आएको स्मरण गराए। राणाकालमा बाँध निर्माण र पछि राजा महेन्द्रको पालामा बाँधको उचाइ बढाइएपछि ताल विस्तार भएको उनको भनाइ छ।
पोखरा जस्तो अन्तर्राष्ट्रिय पर्यटकीय सहरमा संरक्षण र विकास सँगसँगै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। “संरक्षणले विकास रोक्नु होइन, टेवा दिनुपर्छ,” उनले भनेकोछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com