२३ चैत, काठमाडौं । संसद् सञ्चालन कार्यविधिमा दलहरूबीच सहमति जुटाउन आज सर्वदलीय बैठक बस्दै छ । संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाएको हो ।
बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव गृहमन्त्री सुदन गुुरुङले पेश गर्ने सम्भावित कार्यसूची छ ।
‘सम्भावित कार्यसूचीमा तीनवटा अध्यादेशहरू जुन पहिलो बैठकमा प्रस्तुत भएका थियो, ती अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भनिएको छ,’ गिरीले भने, ‘यद्यपि ११ बजे सर्वदलीय बैठक बसिसके पछाडि यो कार्यसूचीमा केही परिमार्जन हुन सक्छ ।’
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता गिरीले बताए ।
कार्यव्यवस्था समिति २१ सदस्य भन्दा बढी नहुनेगरी बनाउने विषयमा परामर्श भइरहेको छ । अहिले प्रतिनिधिसभाको पुरानै नियमावलीका आधारमा काम भइरहेकोमा अब नयाँ नियमावली बनाउने प्रक्रिया पनि बैठकले अगाडि बढाउने सम्भावना छ । सम्भवत: आज प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समिति गठन हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com