विशेष महाधिवेशन माग गर्दै नेकपा एमालेका राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले हस्ताक्षर सुरू गरेका छन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले अनपेक्षित पराजय बेहोरेको भन्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सुरु गरेका हुन्।
नेकपा एमालेको विधानको धारा ७३ मा उचित कारण देखाई दुई तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले लिखित रूपमा विशेष महाधिवेशनको माग गर्न सक्ने प्रावधान रहेकोछ । विशेष महाधिवेशनको माग दर्ता गरेको मितिले ६ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने छ ।
विशेष महाधिवेशन माग गर्दा पनि आयोजना नगरिएमा महाधिवेशन माग गर्ने कमिटी वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले महाधिवेशन आयोजक कमिटी बनाएर विशेष महाधिवेशन आयोजना गर्न सक्नेछन्।
विगतदेखि नै नेतृत्व परिवर्तनको आवाज उठाइरहेका इतर समूह र केही युवा नेताले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराइरहेका हुन्।
अनेरास्ववियुका उपमहासचिव कमल जोशीले एमालेलाई समयसापेक्ष रूपान्तरण गर्न अब युवा नेतृत्व अपरिहार्य भइसकेको बताए।
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गराइएको पत्रमा संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा एमालेले सबैभन्दा कमजोर निर्वाचन परिणाम भोग्न बाध्य भएको उल्लेख छ।
पार्टी इतिहासको संगीन घडीमा उभिएको यस अवस्थामा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीले मात्र समीक्षा गरेर निकास निकाल्न नसक्ने विशेष महाधिवेशन माग गरिरहेकाहरूको निचोड छ।
'नेकपा एमाले पार्टीमार्फत देश र जनताको हितमा काम गर्न अझ धेरै सशक्त भएर जनताको मन र मस्तिष्कमा बस्न यस्तै अवस्था सिर्जना हुँदाखेरी उपयोग गर्न भनेर एमालेको विधानमा समेत विशेष महाधिवेशन व्यवस्था गरेको छ। यस्तो अवस्था आउनुको पछाडि विगतको वस्तुनिष्ठ सहित निर्मम समीक्षा र एमालेको आगामी बाटो तय गर्न एमालेको विधान, २०४९ (दोस्रो विधान महाधिवेशन २०८२, ११औं राष्ट्रिय महाधिवेशन २०८२ को संशोधन सहित) को धारा ७३ को (क) बमोजिम विशेष महाधिवेशनबाट नै सम्पूर्ण विषय टुंगो लगाउन वाञ्छनीय हुने भएकाले हामी एघारौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूले कम्युनिस्ट आन्दोलन र एमालेको रक्षा र हितका लागि हस्ताक्षर गरी केन्द्रीय कमिटी मार्फत विशेष महाधिवेशन छिटो भन्दा छिटो माग गर्दछौं,' पत्रमा भनिएको छ।
एमालेको ११ औं महाधिवेशनमा कूल २२६३ जना प्रतिनिधि थिए। विशेष महाधिवेशनका लागि ११३२ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर आवश्यक हुन्छ। प्रारम्भिक अवस्थामै ४०० जनाभन्दा बढीले हस्ताक्षर गरिसकेको उनीहरूको दाबी छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com