labortelevision@gmail.com

काठमाडौ उपत्यकामा न्युनतम गाडी भाडा २४ रुपैयाँ , बागमती प्रदेशका प्रमुख रुटहरूमा कति

२९ चैत , काठमाडौ । बागमती प्रदेश सरकारले शनिबारबाट सार्वजनिक सवारीसाधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भएको परिवर्तनलाई आधार मानेर सार्वजनिक सवारीको भाडादर वृद्धि गरिएको जनाएको छ । भाडा निर्धारण तथा समायोजन समितिको सिफारिसअनुसार प्रदेश सरकारले नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशित गरेसँगै शनिबारदेखि नै लागू भएको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारीसाधनको भाडा वृद्धि गर्न सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बागमती प्रदेश सरकारले सर्वाजनिक भाडादर वृद्धि गरेको हो । 

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छ । जुन भाडा साबिकको दरभन्दा २५.९६ प्रतिशतले बढी हो । 

यसअघि पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेकोमा बढाएर २४ रुपैयाँ बनाइएको हो । यस्तै, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ, २० किलोमिटरसम्म ४४ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ भाडादर कायम गरिएको छ । ट्याक्सी सेवामा पनि भाडा वृद्धि गरिएको छ । 

नयाँ व्यवस्थाअनुसार ट्याक्सीको फ्ल्यागडाउन ५८ रुपैयाँ कायम गरिएको छ भने प्रत्येक दुई सय मिटरका लागि १२ रुपैयाँ भाडा लाग्नेछ । यसैगरी, उपत्यकाबाहिर सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको हकमा भने साबिक भाडादरमा १७.३५ प्रतिशत वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारीसाधनको भाडा प्रतिटन प्रतिकिलोमिटर १४.८० रुपैयाँबाट बढाएर १८.७६ रुपैयाँ कायम गरिएको छ । मालवाहक सवारीसाधनको भाडा २६.७९ प्रतिशतले वृद्धि गरिएको हो । विद्युतीय सवारीसाधनको भाडादर भने यथावत् राखिएको छ ।

बागमती प्रदेशका प्रमुख रुटहरूमा वृद्धि भएको भाडा

काठमाडौं–नारायणगढ रुटमा भाडा चार सय ४३ रुपैयाँबाट बढेर पाँच सय २० रुपैयाँ पुगेको छ भने काठमाडौं–नारायणगढ–हेटौँडा रुटमा ६ सय ५५ रुपैयाँबाट बढेर सात सय ६९ रुपैयाँ कायम गरिएको छ । यस्तै, काठमाडौं–बल्खु–दक्षिणकाली–कुलेखानी–हेटौँडा रुटमा ६ सय ४२ रुपैयाँ रहेको भाडा बढेर सात सय ५३ रुपैयाँ कायम गरिएको छ । यसैगरी, काठमाडौं–धुलिखेल रुटमा ९२ रुपैयाँबाट बढेर एक सय आठ रुपैयाँ, काठमाडौं–गल्छीमा एक सय ४३ रुपैयाँबाट एक सय ६८ रुपैयाँ, काठमाडौं–चौतारा दुई सय ८२ रुपैयाँबाट तीन सय ३१ रुपैयाँ र काठमाडौं–जिरी रुटमा सात सय ७० रुपैयाँबाट नौ सय चार रुपैयाँ पुगेको छ । 

 काठमाडौं–धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी हुँदै चरिकोटसम्मको भाडा नौ सय ११ बढाएर एक हजार ६९ र काठमाडौं–धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी हुँदै जिरीको भाडा एक हजार ३८ बाट बढाएर एक हजार दुई सय १८ कायम गरिएको छ ।

यस्तै, काठमाडौं–रामपुर (चितवन) रुटमा चार सय ७१ रुपैयाँबाट बढेर पाँच सय ५३ रुपैयाँ, काठमाडौं–तातोपानीमा तीन सय ९७ रुपैयाँबाट बढेर चार सय ६६ रुपैयाँ तथा काठमाडौं–धुन्चे रुटमा चार सय २९ रुपैयाँबाट बढेर पाँच सय तीन रुपैयाँ भाडा कायम गरिएको छ ।

प्रतिक्रिया