काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे सकारात्मक अपडेट आएको छ। यूएईस्थित नेपाली दूतावासले घाइतेहरूसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी संकलन गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार घटनामा घाइते भएका सातै नेपालीसँग दूतावासका कर्मचारीले कुराकानी गरिसकेका छन्। प्रारम्भमा एक जनाको अवस्था गम्भीर रहेको भनिए पनि हाल सबै जना खतरामुक्त रहेको पुष्टि गरिएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार एक जनाको हातमा चोट लागेको भए पनि अवस्था नियन्त्रणमै रहेको छ। उनले दूतावासले आवश्यक थप सहयोगका लागि निरन्तर समन्वय गरिरहेको पनि बताए।
घाइतेमध्ये दुई जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जनाको उपचार जारी छ।
यूएईका सरकारी सञ्चारमाध्यममार्फत नेपालीहरू घाइते भएको खबर सार्वजनिक भएपछि दूतावासले तत्काल चासो लिँदै घटनाको विवरण संकलन गरेको हो।
उक्त घटना शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गरेपछि भएको हो। अवरोध गरिएको ड्रोनको भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खस्दा ७ नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि रहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com